छोरी, मैले आफूलाई बेचेरै भए पनि तिम्रो लागि न्याय किन्नेछु

जनकपुरधाम उपमहानगरपालिका-९ की आरती साहको न्यायका निम्ति करिब २ महिनादेखि उनको परिवार माइतीघर मण्डलामा धर्ना बसिरहेको छ । 

छोरीको हत्या भएको भन्दै संलग्नलाई कारबाही होस् भन्ने उनीहरूको माग छ । तर, मुद्दाको पेसी सरेको सर्‍यै गर्दा न्याय नपाइने हो कि भन्ने आशंकामा उनीहरू छन् ।  

यो लेख आरती साहको घटनामा आघारित रही लेखिएको एक काल्पनिक संवाद हो । यस संवादका मुख्य पात्र आरती र उनका बुबा रहेका छन् । यो लेख आरतीको न्यायप्रतिको प्रतीक्षा र उनका बुबाको निर्दोष प्रश्नहरूबीच रूमल्लिएको एक संवाद हो । यो रचना बुबा र छोरीको सम्बन्धको माधुर्यता झल्काउने कथा हो । यो लेख छोरी भएकै कारण मर्नुपर्ने बेदनाको चीत्कार हो ।

आरतीसँग उनको बुबाको संवाद यसरी सुरु हुन्छ:

(सपनामै भए पनि आरतीसँग उनको बुबाको भेट भइरहन्छ । सधैँझैँ आज पनि आरती र उनका बुबाको सपनामा भेट हुन्छ । माइतीघरको चिसो सडकमा बुबाछेउ गएर आरती बस्छिन् र बुबालाई सोध्छिन् ।)

आरती : बुबा ! अब अझै कति दिन ?

बुबा : छोरी ! मसँग तिम्रा प्रश्नहरूको उत्तर छैन । बरू सक्छ्यौ भने मेरा प्रश्नहरूको उत्तर देऊ ?
 
आरती : कस्ता प्रश्नहरू बुबा ?
 
बुबा : मेरी प्यारी छोरी आरती, तिमी सदाका लागि किन निभेर गयौ ? म सम्झन्छु– तिम्रो हत्केलामा लागेको सानो चोट, त्यो सहन पनि तिमीलाई कति गाह्रो हुन्थ्यो । तिमीलाई सानो चोट लाग्दा पनि दौडेर मकहाँ आउँथ्यौँ तर आज यति धेरै यातना चुपचाप कसरी सह्यौ बेटी ? म बाँचेकै त थिएँ, मेरो सास चलेकै त थियो, तिमी फेरि मकहाँ आउन सक्थ्यौ नि ।

आरती : मेरो गल्ती के थियो थाहा छ बुबा, म ‘योनी’ बोकेर जन्मिएँ । अनि सायद, तपाईंले मसँग दाइजो पठाउँदा मेरो पछिपछि लागेर काल पनि आएको रहेछ ।

बुब :  छोरी, म कर्मले किसान हुँ, सपनाहरू पनि सानै थिए । सुक्खा रोटी नै सही, तिमीहरूको भविष्य उज्ज्वल भएको हेर्न चाहन्थेँ । तिमी त मेरो बाँच्ने आधार थियौ छोरी । यो विछोड म कसरी सहुँ ?
 
(बुबा भावुक हुँदै फेरि भन्नुहुन्छ)

बुबा : तिमीलाई गिद्धहरूले चिथोर्दा मलाई पनि दुखेको थियो । त्यहाँ तिमीले अन्तिम सास फेर्दा, यहाँ म मूर्च्छा परेको थिएँ । यति असह्य पीडा कसरी सह्यौ ? यति छोटो आयु लिएर आयौ छोरी । हेर न ! तिमीबिना मैले बाँच्न जानेको छैन । अब मलाई बाँच्न सिकाइदेऊ, हाँस्न सिकाइदेऊ । 

आरती : (बुबाको आँसु पुछ्दै) बुबा, आँसु नबगाउनुस् । गरिबहरूलाई रून पनि बन्देज छ यहाँ । हामीलाई न्यायको लामो लडाइँ लड्नु छ अझै । तपाईं यसरी टुट्नुभयो भने आमा, दाइ र बहिनीलाई कसले सम्हाल्छ ?

आरती : (केही सम्झिएजस्तै गरेर) अँ साँच्ची बुबा, आमा खोइ त ?

बुबा : तिम्रो लागि न्याय माग्दामाग्दै सडकमा लम्पसार परेर रूँदैछिन् ।

आरती : दाइ खोइ ?

बुबा : तिम्रो लागि न्याय माग्दा लागेको चोटमा मल्हम लगाउँदै छ ।

आरती : खोइ त बहिनी ?

बुबा : तिम्रो लागि न्याय माग्दा उसका शरीरमा लागेका छापहरू मेटाउँदै छे ।  
आरती : (निन्याउरो मुख लाउँदै) बुबा,  न्याय पाउन अब म कति कुरौँ ? मेरा हाड गलेर, मासु जलेर खरानी भइसक्यो । मेरो गर्भमा रहेको यो दुईमहिने भ्रूणले पनि मलाई प्रश्न गर्छ बुबा । मसँग उत्तर छैन ।
 
बुबा : छोरी ! यहाँ न्याय किनबेच हुँदो रहेछ, त्यसैले नआत्तिऊ । म न्यायको मूल्य खोज्दै छु । आफूलाई बेचेरै भए पनि म तिम्रो लागि न्याय किन्नेछु ।  

छोरी ! यहाँ न्याय किनबेच हुँदो रहेछ, त्यसैले नआत्तिऊ । म न्यायको मूल्य खोज्दै छु । आफूलाई बेचेरै भए पनि म तिम्रो लागि न्याय किन्नेछु ।

आरती  : बुबा ! यो न्यायको मूल्य कति हो ? मेरो चितामा बलेको आगोले पनि तिर्न सकेन र ? म सम्झिन्छु त्यो समय– जुन बेला मेरो श्रीमान्‌ले मोटरसाइकल दाइजो नपाएर मलाई मूर्च्छा परुञ्जेल कुटेको थियो । मेरो घाँटी थिचेको थियो त्यसरी, जसरी अहिले सरकारले तपाईंहरूको घाँटी थिचिरहेको छ ।

(मलाई मेरो यो योनी बोकेको शरीर भारी भइसक्यो भन्दै बरबराउँदै आरती बसेको ठाउँबाट जुरुक्क उठेर कुहिरोमा अलप हुन्छिन् ।)

बुबा : हमार बेटी, रूइकजो । हमारा छोइड क नई जो । (मैथिली भाषामा)
आरतीलाई रोक्दै निद्राबाट ब्युँझिएर बुबाले भने : हे  भगवान ! अबदेखि कुनै पनि मान्छेलाई गरिब नबनाउनू । यदि बनाइहाल्यौ भने पनि गरिबको घरमा छोरी नदिनू । यो एउटा लाचार बुबाको बिन्ती हो ।
 
जनकपुरधाम, कुनै बेला राजा जनकले सुशासनसहित राज्य सञ्चालन र राज आचरणको नमुना बनाएको ठाउँ हो । यही मिथिलाकी छोरी सीतालाई जगत्‌माताको उपाधि दिइन्छ । तर, आज यही मिथिलामा मिथिलाकै एक छोरी दाइजोका कारण मारिन्छे भने अब हामीले सोच्नुपर्ने र बोल्नुपर्ने बेला आएको छ । हाम्रो समाज कता लम्किँदै छ भनेर अब चिन्तित हुनुपर्ने बेला आएको छ ।

न्यायका लागि उठेको यो आवाज अब दबिनु हुँदैन । राज्यले आरती साहको परिवारको माग सम्बोधन गर्दै दोषीलाई उचित कारबाही र आरतीलाई न्याय दिनैपर्छ । हामी अब दोस्रो आरती  गुमाउञ्जेल प्रतीक्षा नगरौँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *